Logo

मुख्य समाचार

यस्तो छ राजु पाण्डेको स्पष्टीकरणः गुरागाईंले हटाइ छाड्ने, बालेनले जोगाउन नसक्ने !


gdpnepal
   १४ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अन्ततः पदमुक्त हुने स्थितिमा पुगेका छन् ।

मेयर बालेन शाहको आडमा पदीय मर्यादा विपरीत अस्वाभाविक र अमर्यादित हर्कत गर्दैै आएका पाण्डे कानुनतः निलम्बित हुने परिस्थिति सिर्जना भएको छ ।

पाण्डेलाई पदमुक्त गर्नकै निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई स्पष्टीकरण सोधेका छन् भने गुरागाईंकै तहबाट पाण्डे कारबाहीको भागीदार हुने व्यवस्था छ ।

पाण्डेको स्पष्टीकरण महानगरले प्राप्त गरे पनि चित्तबुझ्दो देखिँदैन । उनले आफूले गल्ती नगरेको र मेयरको आदेश पालना गरेको दावी गरे पनि गुरागाईं आफैंलाई कार्यालय छिर्न नदिन उनले गरेको हर्कतका कारण माफी पाउने अवस्थ छैन ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत छिर्न नदिन प्रहरी परिचालन गर्नेदेखि अधिकृतको गाडीमा ह्वील लक गर्ने, कार्यकक्षमा ताला लगाउने लगायतका हर्कत गरे पनि अहिले भने जानकारी नभएको र आफूले नगरेको भन्दै चोखिन खोजेका छन् ।

उनलाई कारबाहीकै लागि गुरागाईंले जेठ ६ गते सात दिने स्पष्टीकरण सोधेका थिए ।

महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने उल्लेख छ ।

“प्रमुख प्रशासकीय अधिकृतको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।

प्रहरी ऐन २०८० को दफा ३९ मा महानगर प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृत प्रहरीलाई सामान्य सजाय गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने स्पष्ट व्यवस्था छ ।

यो व्यवस्था अनुसार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डे कारबाहीमा पर्ने निश्चित छ ।
उनले सो दिन उपप्रमुख सुनीता डंगोल र वडाध्यक्षहरुमाथि गरेको दुव्र्यवहारका कारणले पनि कारबाहीको भागिदार हुने अवस्था सिर्जना भएको हो ।

महानगर प्रहरी ऐनमा महानगर प्रहरीलाई विशेष सजाय गर्नुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा कार्यपालिकाले गर्ने उल्लेख छ ।

उपमेयर डंगोलसहित ४२ कार्यपालिका सदस्यले बैठक आह्वानका निमित्त मेयर शाहलाई दबाब दिइरहेका छन् भने उनीहरु पाण्डेलाई हटाउनु पर्ने पक्षमा छन् ।

६ महिनादेखि कार्यपालिका बैठक आह्वान नभए पनि आगामी कार्यपालिका बैठकमा गुरागाईंले पाण्डेलाई कारबाहीको सिफारिस गर्ने र सोही बैठकबाट पाण्डे पदमुक्त हुने परिस्थिति सिर्जना भएको छ ।

काठमाडौंका साना मझौला व्यवसायी, जनप्रतिनिधि र स्थानीयका लागि आतंकको पर्याय बनेका पाण्डेमाथिको कारबाहीले मेयर शाहको दाहिने हात भाँचिए सरह हुने देखिन्छ ।

यस्तो छ पाण्डेको ६ बुँदे स्पष्टीकरण 

१. महानगरपालिकाको स्वामित्वको सार्वजनिक सम्पतिको रूपमा रहेको विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनको अनधिकृत प्रयोग हुन नदिन साथै सोको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर गर्दै नियमित रूपमा गरिने कार्य भएको व्यहोरा अनुरोध गर्दछु ।
 

२. उक्त दिनमा के कस्तो कार्यक्रम हुन गइरहेको सम्बन्धमा महानगर प्रहरी बललाई कुनै जानकारी नभएको अवस्थामा महानगरपालिका कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड भई जनप्रतिनिधि कर्मचारीबाहेक अन्य व्यक्तिहरू समेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्ध गर्न प्रमुखज्यूको आदेश अनुसार गरिएको व्यहोरा अनुरोध गर्दछु ।
 

३. महानगरपालिका कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड भई जनप्रतिनिधि कर्मचारीबाहेक अन्य व्यक्तिहरू समेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्धको व्यवस्थापकीय कार्य गर्न प्रमुखज्यूको आदेश अनुसार गरिएको व्यहोरा अनुरोध गर्दछु ।
 

४. श्रीमान प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षको तालाबन्दी तथा अन्य कागजात सम्बन्धमा मलाई कुनै जानकारी नभएको र सो कार्यका लागि कुनै निर्देशन नगरिएको समेत अनुरोध गर्दछु ।
 

५. म महानगरपालिकको कर्तव्यनिष्ट कर्मचारी रहेको कुरा निर्विवाद नै रहेको छ । मैले सदैव श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यूको आदेश पालना गरेको अवस्था हो । श्रीमान्को गैरहाजिरीमा महानगरपालिकाको अन्तिम निर्णयकर्ता श्रीमान् प्रमुखज्यूको आदेश पालना गर्ने कार्यसम्म मात्र गरेको हो । मैले गर्नुपर्ने आचारण र अनुशासनविपरीत कार्य नगरेको व्यहोरा अनुरोध गर्दछु ।
 

६. सञ्चारमाध्यमहरूबाट अतिरञ्जनापूर्णले महानगरपालिकाको प्रतिष्ठाविरुद्ध प्रचारप्रसार भएको अवस्थामा सञ्चारमाध्यमबाट सोधनी हुँदा महानगरपालिकाभित्र कुनै विवादको अवस्था नरहेको स्पष्ट पार्न आफ्नो अभिव्यक्ति व्यक्त गरेको मात्र हुँ । मैले सदवै महानगरपालिकाको नीति तथा निर्णयबमोजिमको कुरा मात्र सञ्चारमाध्यममा प्रस्तुत गरेको व्यहोरा अनुरोध गर्दछु । साथै मैले उपप्रमुखलगायत अन्य कुनै जनप्रतिनिधिसँग मुखमुखै लाग्ने तथा अमर्यादित व्यहोरा देखाएको होइन ।
 

मैले सदैव श्रीमान्को आदेशको पालना गरिआएको नै छु । काठमाडौं महानगरपालिकाको नीति तथा निर्णयबमोजिम आफूले पालना गर्नुपर्ने कर्तव्य पालना नै गरेको छु । उक्त दिनको घटनापश्चात नियमित रूपमा मैले श्रीमान्को आदेश पालना गरी आएको नै अवस्था हो । काठमाडौँ महानगरपालिका जनप्रतिनिधिहरूको आदेश मानेको नै छु । साथै अन्य कर्मचारी सहकर्मीहरूसँग समेत गर्नुपर्ने सहकार्य मैले गर्ने गरेको नै छु । आफूले गर्नुपर्ने कर्तव्य पालना नगरेको तथा अनुशासनहीन कार्य गरेको भन्ने दृष्टिकोणबाट परिस्थितिजन्य अवस्थाबाट पर्न गएको शंकाको कारणले मलाई कारवाही गर्नुपर्ने अवस्था नभएको व्यहोरा अनुरोध गर्दछु ।

 

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह