काठमाडौं । सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई प्राप्त हुने लाभांश घटेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा सरकारले ८ अर्ब ८३ करोड ५६ लाख मात्र लाभांश प्राप्त भएको देखिएको छ । जबकि आर्थिक वर्ष २०७९–८० मा १३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएको थियो ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा पेश गरेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार यसरी कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०–८१ मा २.४ प्रतिशत मात्र रहेको छ ।
सरकारले प्राप्त गर्ने लाभांश घटे पनि आर्थिक वर्ष २०८०–८१ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा ४१.०३ प्रतिशतले बढेर ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ ।
सञ्चित नाफा सबैभन्दा धेरै रहेको सार्वजनिक संस्थान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड हो, जसको सञ्चित नाफा ४८ अर्ब ३ करोड २९ लाख रहेको छ ।
क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रको सञ्चित नाफा सबैभन्दा धेरै ९४ अर्ब ७० करोड ८३ लाख पुगेको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै नोक्सानी औद्योगिक क्षेत्रको २१ अर्ब ७० करोड ७७ लाख रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्व १० अर्व १७ करोड पुगेको छ ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड १६ लाख र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड ७२ लाख रहेको
छ ।
आर्थिक वर्ष २०८०–८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।
सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने १५ वटा घाटामा छन् । आर्थिक वर्ष २०८०–८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड १६ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो ।
नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड ६५ लाख रहेको छ । नाफामा रहेका संस्थानहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरुको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।










प्रतिक्रिया