काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि विद्युतीय सवारीमा निर्धारित कर यथावत राखेको छ भने चार्जिङ स्टेशनका मेसिन एसेम्बलमा छुट दिने भएको छ ।
“विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदुषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत राखेको छु,” अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै भने ।
विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था भएको छ ।
यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत अर्थमन्त्रीले गरेका छन् ।
यता, बीस वर्ष भन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्रीले जानकारी दिए ।










प्रतिक्रिया