Logo

मुख्य समाचार

राजु पाण्डेलाई दिइएको निलम्बन पत्रमा के छ ? 


gdpnepal
   २२ जेष्ठ २०८२, बुधबार


काठमाडौं । चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध र हुलहुज्जत गरेपछि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । 

स्पष्टीकरणको जवाफमा पाण्डेले ‘कानुनअनुसार र मेयर निर्देशनमा अवरोध गरेको र गाडीमा ह्विललक’ लगाएको बताएसँगै उनी निलम्बनमा परे ।  

पाण्डेलाई दिइएको निलम्बन पत्रमा उनी स्वयं हुलहुज्जत र हातपातमा संलग्न रहेको उल्लेख छ । 

पाण्डेका विषयमा छानबिन गर्न समिति बन्ने भएको छ । 

पाण्डे निलम्बनको मुख्य कारण भने महानगर प्रमुख बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मतभेद नै हो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मंगलबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बित गरेका हुन् । 

महानगरले अर्को व्यवस्था नभएसम्मका लागि एसपी विष्णुप्रसाद जोशीलाई नगरप्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । 

निलम्बन पत्रमा ‘पाण्डेका विषयमा छानबिन गर्न समिति गठन हुने र उक्त समितिलाई छानबिनमा बाधा नहोस् भनेर बढीमा ६ महिनाका लागि निलम्बित गरिएको’ उल्लेख छ । 

पत्रमा यस्तो छ:

“महानगरपालिका कार्यालय परिसर एवं प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा २०८१ साल चैत्र २१ गतेका दिन घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईंको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको र सो अभियोगमा च.नं.४०२३ को पत्रमार्फत तपाईंसँग सातबुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण विश्वासयोग्य र चित्तबुझ्दो नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृतले जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा (४) बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु,” निलम्बन पत्रको व्यहोराबारे महानगर स्रोतले भनेको छ । 

पत्रको व्यहोरा उद्धृत गर्दै महानगरको विश्वस्त स्रोतले भन्यो, “सो जाँचबुझ समितिको काममा अनुचित प्रभाव नपरोस् भन्नाका खातिर तथा जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि ऐनको दफा ३९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी तपाईलाई आजैका मितिदेखि लागु हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ (छ) महिनाका लागि निलम्बन गरेको छु ।” 

निलम्बन पत्रको बोधार्थ महानगर प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, सबै विभागहरू, महानगर प्रहरी बल र सबै वडा कार्यालयलाई दिइएको छ । 

मेयर शाहका आदेश पालना गर्दा अन्य जनप्रतिनिधिमाथि अपमानजनक व्यवहार गर्न पछि नपर्ने पाण्डेले आफूलाई फिल्डको मेयर भन्ने गर्दथे ।

उनको कारबाहीलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ ।

 

प्रकाशित : २२ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह