Logo

मुख्य समाचार

२१ सरकारी कार्यालयबाट गैरकानुनी असूली आरोपमा कान्तिपुरका पूर्वपत्रकार भट्टविरुद्ध मुद्दा !


gdpnepal
   २४ जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर दैनिकका रामेछाप संवाददाता रहिसकेका पत्रकार टीकाप्रसाद भट्टविरुद्ध कमिसन लिइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भट्टले आर्थिक वर्ष २०४९–५० देखि २०८०–८१ सम्म १ करोड १५ लाख ४ हजार १११ रूपैंया गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको अख्तियारले जनाएको छ ।

२१ सरकारी निकायबाट गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीललगायत केही सरकारी अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

पत्रकार भट्ट रामेछापको मन्थली नगर विकास समिति, मन्थली, रामेछापमा अस्थाई नायब सुब्बा पदमा कार्यरत छन् । उनले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गरि भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीका अख्तियारमा प्राप्त भएको थियो ।

भट्टले मन्थली नगर विकास समिति, रामेछापमा मिति २०४९ साउन १ गते अस्थायी खरिदार पदमा ६(छ) महिनाको लागि शुरू नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारी समेतले मिति अनिश्चितकालीन म्याद थप गरे गराएको देखिएको छ ।

उक्त कार्य सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार, काठमाडौंको प्राप्त पत्रानुसार नगर विकास ऐन, २०४५ मा नगर विकास समितिको अस्थायी कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था नरहेको भन्ने विवरण प्राप्त भएको देखिन्छ ।

२०७० मंसिरमा अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै निज अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको देखिएको उल्लेख छ ।

भट्टले बढुवा प्राप्त गर्न दिएको निवेदन, निजको शैक्षिक योग्यता र कार्य सम्पादनको स्तरलाई हेरि बढुवा गर्ने राय पेश गरेकोमा बढुवाको निम्ति खटिएको कार्यदलले सोको कुनै प्रक्रिया पूरा गरेको नदेखिएको र उनको नायब सुब्बा पदमा बढुवा हुने योग्यता पुगेको नदेखिएको अख्तियारको ठहर छ ।

मन्थली नगर विकास समितिको कर्मचारी भट्ट वि.सं. २०५३ सालदेखि कान्तिपुर पब्लिकेशन लिमिटेडको विभिन्न पदमा कार्यरत रही काम गर्दै आएको देखिएकोमा मिति २०६७ पुस १ मा कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारिको नियुक्ति लिई उक्त पब्लिकेशनबाट नियमित पारिश्रमिक तथा तलब सुविधा प्राप्त गरेको देखिएको उल्लेख छ ।

मन्थली नगरपालिका, नगर कार्यापलिकाको कार्यालय मन्थली, रामेछापको पत्रानुसार मन्थली नगर विकास समितिमा कार्यरत टिका प्रसाद भट्टले कार्यालय समय बाहेक अतिरिक्त समयमा अन्य कुनै पेशा तथा व्यवसाय गर्न अनुमती प्रदान गरेको अभिलेखमा नरहेको भन्ने विवरण प्राप्त भएको देखिन्छ ।

भट्टले मन्थली नगर विकास समिति तथा कान्तिपुर पब्लिकेशन लि. साथै एकै समयमा कार्यालयमा हाजिरी रही रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरू र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय लुकाई तथा गोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा उक्त कार्यालयहरूबाट काज तथा भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको देखिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

सोही समयमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थली, रामेछापको सञ्चालक समिति (कोषाध्यक्ष)को रूपमा कार्यरत रही उक्त बैठकमा समेत उपस्थित भई गैरकानूनी लाभ लिएको देखिन्छ ।

उनले मिडाड नेपाल नामक विज्ञापन एजेन्सिको साईट मेनेजर तथा स्थानीय प्रतिनिधिको रुपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम समेत लिएको देखिएको उल्लेख छ ।

मिडाड नेपालको स्थानीय प्रतिनिधी तथा पत्रकारको हैसियतमा जिल्ला स्थित कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी मिडाड नेपाल मार्फत कमिशन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्स लि.को एजेन्टको रुपमा समेत कार्य गरी भत्ता तथा अन्य सुविधा समेत लिएको उल्लेख छ ।

राष्ट्रसेवक कर्मचारी भट्टले व्यवसाय गर्नु, सहकारीको सञ्चालक भई काम गरेर सुविधा लिनु, आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रूपमा विभिन्न कार्यालयहरू लाई दबाव र प्रभावमा पारी भ्रमण भत्ता तथा बैठक भत्ता लिनु र मिडाड नेपाल नामक विज्ञापन एजेन्सीमार्फत सूचना प्रकाशित गरे वापत कमिशन लिई सम्बन्धित सार्वजनिक संस्थामा दाखिला नगर्नु, विज्ञापन एजेन्सिको प्रतिनिधीको रुपमा कमिशन लिई काम गर्नु, सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको एजेन्टको रूपमा काम गरी रकम भुक्तानी समेत लिनु अनुचित भएको अख्तियारको ठहर छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेलवासे र सुरेश प्रसाद दाहालल भट्टसँगको मिलोमतो तथा योजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता दिएको आरोपमा प्रतिवादी बनाइएका छन् ।

वास्तविक परिचय लुकाई कान्तिपुर दैनिकको पत्रकारको हैसियतले एकै समयमा विभिन्न कार्यालयहरूबाट दोहोरो हुने गरी भ्रमण र काज खटिई भ्रमण भत्ता तथा बैठक भत्ता बापतको रकम बुझि लिँदा समेत उक्त विषयमा आवश्यक कारवाही गरेको नदेखिएकोवाट प्रतिवादी टिका प्रसाद भट्टले अन्य प्रतिवादीहरुसँगको मिलोमतोमा १ करोड १५ लाख ४ हजार १११ रूपैंया गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको तथा गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

 

प्रकाशित : २४ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह