झापा । मनसुनको बहानामा राजावादी आन्दोलन तुहिएको छ । मनसुनलाई बहाना बनाइए पनि आन्तरि आन्तरिक विवादका कारण आन्दोलन अनिश्चित बनेको हो ।
राजावादी आन्दोलनका अगुवा नवराज सुवेदीको नेतृत्व कमजोर रहेको र युवामाझ स्वीकार्यसमेत नभएको तथा राजावादी आन्दोलनबाट कमल थापा पुन: स्थापित हुने देखिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिक रूपमै आन्दोलन स्थगन गरेको हो ।
राप्रपाभित्र धवलशमशेर र रविन्द्र मिश्रलाई तह लगाउन पनि संस्थापन पक्षले आन्दोलन रोकेको जानकारहरू बताउँछन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खा लागिसकेकाले अब उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।
शनिबार (जेठ २४) झापाको हल्दिबारीमा सञ्चारकर्मीसँग उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दुराष्ट्रका निम्ति मात्र नभएको जिकिर गरे । उनले उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए ।
अध्यक्ष लिङदेनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनर्स्थापना, हिन्दुराज्यसँगै देशमा सुशासन र विकासका निम्ति पनि भएको बताए ।
जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले त्यो परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो ।
संविधानमा रहेका कतिपय विषयमा पार्टीको फरक मत रहे पनि केही राम्रा रहेको उनले उल्लेख गरे ।










प्रतिक्रिया