Logo

कर्पोरेट-बजार

‘रोयल ट्युलिप’ ब्रान्डको पहिलो होटल ग्वार्कोमाः ३०८ रुम र ३० हजार वर्गफुटको सम्मेलन केन्द्र मुख्य आकर्षण


gdpnepal
   २ असार २०८२, सोमबार


काठमाडौं । अन्तर्राष्ट्रिय होटल चेन लुभ्र होटल्स ग्रुपले काठमाडौंमा नेपालकै पहिलो ‘रोयल ट्युलिप’ ब्रान्डको होटल रोयल ट्युलिप काठमाडौंको औपचारिक सुरुवात गरेको छ ।

ललितपुरको ग्वार्कोमा अवस्थित यस होटलले नेपालकै सबैभन्दा ठूलो कोठा संख्या र राजधानीकै सबैभन्दा ठूलो माइस सुविधा प्रदान गर्ने दाबी गरेको छ ।

द म्यासिफ होटल प्रा.लि. द्वारा निर्माण गरिएको र सरोवर होटल्सद्वारा व्यवस्थापनमा ल्याइएको यो होटलले अन्तर्राष्ट्रियस्तरको सुविधा र नेपाली संस्कृतिको संगम प्रस्तुत गर्ने जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३.५ किलोमिटरको दूरीमा रहेको यो होटलमा ३०८ कोठा र स्वीट्स रहेका छन्, जसले यसलाई कोठा संख्याका आधारमा नेपालकै सबैभन्दा ठूलो बनाएको छ । होटलमा चार फरक श्रेणीका कोठा उपलब्ध छन् ।

आफ्नो परियोजनालाई ‘ऐतिहासिक’को संज्ञा दिँदै द म्यासिफ होटल प्रा.लि. का अध्यक्ष राजेन्द्र शाक्यले भने, “हामी रोयल ट्युलिप काठमाडौंको उद्घाटन गर्न पाउँदा अत्यन्त गौरवान्वित छौं । यो परियोजना नेपालको आतिथ्य क्षेत्र रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धताको झलक हो ।”

अध्यक्ष शाक्यका अनुसार सबैभन्दा ठूलो कोठा संख्या र सबैभन्दा बहुआयामिक इभेन्ट सुविधाहरूका साथ, होटलले सेवा र स्तरमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।

होटलले झन्डै ३० हजार वर्गफुटको सम्मेलन केन्द्र समेत समेटेको छ, जसमा ११ हजार वर्गफुट क्षेत्रफलका दुई प्रमुख बैंक्वेट हल, ६ वटा बैठक कक्ष, ८ सय वर्गफुटको बोर्डरूम र ठूलो बलरूम रहेका छन् । त्यस्तै, करिब ६०० गाडी अटाउने पार्किङ सुविधा पनि उपलब्ध छ ।

सुरुवाती चरणमा १०४ कोठासहित सञ्चालनमा आएको होटलले दुई उच्चस्तरीय फूड एण्ड बेभरेज आउटलेट ललितपुर क्याफे र अल्पाइन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएको छ ।

ललितपुर क्याफे बारेमा होटल व्यवस्थापनले जनाएको छ, । प्राकृतिक प्रकाशले भरिएको र न्यानो आतिथ्यताले स्वागत गर्ने यो स्थानमा प्रत्येक भोजन एक विशेष क्षण जस्तो लाग्छ ।

अल्पाइन लाउन्ज एण्ड बार मा भने लाइभ म्युजिकसहित ककटेल, प्रिमियम वाइन तथा अन्य स्पिरिटहरू उपलब्ध छन् ।

सारोवर होटल्सका अध्यक्ष तथा लुभ्र होटल्स इन्डियाका निर्देशक अजय के. बकायाले भने, “रोयल ट्युलिप काठमाडौं दक्षिण एसियामा हाम्रो ब्रान्ड विकासको एक साहसी अभिव्यक्ति हो । यो नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो हो । बढ्दो बजारको मागलाई सम्बोधन गर्दै, यो परियोजनाले अन्तर्राष्ट्रिय मापदण्डको आतिथ्य अनुभव पुर्‍याउने हाम्रो उद्देश्यलाई मजबुत बनाएको छ ।”

लुभ्र होटल्स ग्रुपले यो उद्घाटनसँगै दक्षिण एसियामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको बताएको छ । नेपालजस्तो उच्च सम्भावनायुक्त गन्तव्यमा विश्वस्तरीय सेवा विस्तार गर्ने समूहको योजना रहेको छ ।

लुभ्र होटल्स ग्रुप विश्वव्यापी आतिथ्य उद्योगमा सक्रिय प्रमुख समूह हो, जसको पोर्टफोलियोमा ७० देशमा १,७५० भन्दा बढी होटलहरू छन् ।

 

प्रकाशित : २ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह