Logo

अर्थनीति

बेलायतको इतिहासकै सबैभन्दा धनी प्रधानमन्त्री ऋषि सुनक किन फर्किए गोल्डम्यान स्याक्समा ?


gdpnepal
   २५ असार २०८२, बुधबार


बेलायत । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक गोल्डम्यान स्याक्समा सल्लाहकारको भूमिकामा फर्किने भएका छन् ।

वाल स्ट्रिट बैंकले मङ्गलबार यस्तो जानकारी दिएको हो ।

सुनकको यो नियुक्ति उनले कन्जरभेटिभ पार्टीलाई गत वर्षको चुनावमा ऐतिहासिक हार व्यहोरेपछि भएको हो ।

सुनक हाल पनि उत्तरी इङ्ल्यान्डको एक निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ पार्टीका सांसद छन् । उनले २००० को दशकको सुरूवाततिर गोल्डम्यान स्याक्समा विश्लेषकको रूपमा काम गरेका थिए, त्यसपछि केही हेज फन्डहरूमा आबद्ध भएका थिए ।

ऋषि सुनक बेलायतका सबैभन्दा धनी प्रधानमन्त्री बनेका थिए । आफ्नो विगतको वित्तीय सेवाको अनुभव र पत्नीको पारिवारिक सम्पत्तिको संयोजनले गर्दा उनी धनीका रुपमा परिचित थिए ।

उनकी पत्नीका पिता भारतीय आईटी सेवा कम्पनी इन्फोसिसका सह–संस्थापक हुन् । यस कारण उनले साधारण जनतासँग सम्पर्कविहीन भएको आरोप खेप्नुपरेको थियो।

गत वर्ष जुलाईमा पार्टीको सय वर्षभन्दा बढी समयको सबैभन्दा खराब चुनावी हारपछि कन्जरभेटिभ नेता पदबाट राजीनामा दिएयता उनी मुख्य रूपमा सार्वजनिक ध्यानबाट टाढै थिए ।

उनले यस वर्षको सुरूवातमा अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयहरूमा केही पद सम्हालेका थिए ।

गोल्डम्यान स्याक्सद्वारा पूर्व अर्थमन्त्री सुनकलाई वरिष्ठ सल्लाहकारको रूपमा नियुक्त गर्नु वित्तीय क्षेत्रमा प्रवेश गर्ने वरिष्ठ राजनीतिज्ञहरूको लामो सूचीमा थपिएको हो, जहाँ उनीहरूको नीतिगत पृष्ठभूमि र विश्वव्यापी सम्पर्कलाई रणनीतिक सम्पत्ति मानिन्छ ।

गोल्डम्यान स्याक्सका सीईओ डेभिड सोलोमनले भने, “म ऋषिलाई फेरि गोल्डम्यान स्याक्समा स्वागत गर्न पाउँदा उत्साहित छु । उनी आफ्नो भूमिकामा विश्वभरका हाम्रा ग्राहकहरूलाई विभिन्न महत्वपूर्ण विषयहरूमा सल्लाह दिनेछन्, र विश्व अर्थतन्त्र तथा भू–राजनीतिक परिदृश्यबारे आफ्ना विशेष दृष्टिकोण र अन्तर्दृष्टिहरू बाँड्नेछन् ।”

पूर्व बेलायती अर्थमन्त्री जर्ज ओस्बोर्न र साजिद जाविदले पनि वित्त क्षेत्रमा प्रवेश गरिसकेका छन् । ओस्बोर्न ब्ल्याकरक र रोबी वारशा (च्यदभथ ध्बचकजबध) मा कार्यरत छन् भने जाविद लगानी कम्पनी सेन्ट्रिकसका साझेदार बनेका छन् । रोयटर्सबाट

 

प्रकाशित : २५ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह