Logo

अर्थनीति

गोल्डस्टार उत्पादक किरण सुजको एउटै ग्राहकसँगको निर्भरता जोखिमपूर्ण !


gdpnepal
   २६ असार २०८२, बिहिबार


काठमाडौं । देशकै प्रसिद्ध जुत्ता ब्रान्ड ‘गोल्डस्टार’ उत्पादक किरण शुज म्यानुफ्याक्चरर्स प्रा.लि.ले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट कर्जा सुविधाहरूमा ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ ।

कम्पनीले कूल ४ अर्ब रुपैयाँ बराबरको बैंक कर्जासम्बन्धी रेटिङ सार्वजनिक गराएको हो ।

कम्पनीलाई दीर्घकालीन कर्जामा ‘बीबी माइनस’, छोटो अवधिको कर्जामा ‘एफोर’ र दीर्घ तथा अल्पकालीन मिश्रित कर्जामा ‘बीबी माइनस÷एफोर’ रेटिङ दिइएको छ ।

किरण शुजको बलियो पक्षहरूमा कम्पनीको ५० वर्षभन्दा लामो अनुभव, अनुभवी प्रवन्धन, ‘गोल्डस्टार’ ब्रान्डको बलियो बजार उपस्थिति र विस्तृत वितरण सञ्जाल उल्लेख छन् ।

कम्पनीले नेपालभर ६० भन्दा बढी डिलरमार्फत उत्पादन वितरण गर्दै आएको छ । भारतमा समेत कम्पनीको स्थायी वितरकमार्फत निर्यात भइरहेको छ ।

तर, कम्पनीले केही सीमित ग्राहकहरूमा अत्यधिक निर्भरता राखेको देखिन्छ । शीर्ष १० ग्राहकले कम्पनीको आम्दानीमा २०७९/८० मा ७५%, २०८०/८१ मा ८४% र २०८१/८२ को पहिलो छ महिनामा ७८% योगदान दिएका छन् ।

भारतस्थित जीएफपीएल नामक कम्पनीसँगको विशिष्ट वितरण सम्झौताले कम्पनीको एउटै ग्राहकप्रति निर्भरता झनै बढाएको रेटिङमा उल्लेख गरिएको छ ।

वित्तीय दृष्टिले, कम्पनीले आव २०७८/७९ मा २४२ करोड रुपैयाँ आम्दानी गरे पनि २०७९/८० मा यो घटेर २१५ करोड पुग्यो । २०८०/८१ मा भने आम्दानी २२२ करोडमा सीमित रह्यो ।

यद्यपि, सञ्चालन नाफा मार्जिनमा सुधार देखिएको छ । २०७८/७९ मा १२.४८ प्रतिशतबाट बढेर २०७९/८० मा १८.९९ प्रतिशत र २०८०/८१ मा २२.१० प्रतिशत पुगेको छ।

कम्पनीको कार्यशील पूँजीमा अत्यधिक निर्भरता देखिएको छ । कच्चा पदार्थको आयात, उच्च स्टक र वितरकलाई लामो समयको क्रेडिट दिँदा सञ्चालन चक्र २०८०/८१ मा ४६८ दिन पुगेको छ ।

साथै, कर्जा प्रयोग दर ९० प्रतिशतभन्दा माथि पुगेको छ ।

कुल ऋण २१ अर्बबाट बढेर ३० अर्ब रुपैयाँसम्म पुगेको देखिन्छ । कम्पनीको गियरिङ अनुपात अझै उच्च छ । यो २०७९/८० मा ७.३४ गुणा छ । यसले कम्पनीको पूँजी संरचना कमजोर रहेको देखाउँछ ।

त्यस्तै, उत्पादन क्षमता प्रयोग दर पनि अत्यन्त कम छ । २०६५ लाख जोडी वार्षिक क्षमता रहेकामा प्रयोग दर झन्डै २९ प्रतिशत मात्र छ।

निर्यातमा अवरोध र जोखिम
भारतमा बीआईएस प्रमाणपत्र अनिवार्य भएपछि केही महिना निर्यात बन्द भएको थियो । कम्पनीको निर्यात भारतमै केन्द्रित छ, जहाँ जीएफपीएल नामक कम्पनीसँग वितरण सम्झौता गरिएको छ । यस्ता नीतिगत परिवर्तनहरूले कम्पनीको निर्यातमा अवरोध पु¥याएको छ ।

कच्चा पदार्थको मूल्य अस्थिरताको जोखिम र न्यून क्षमता उपयोग

किरण शुज म्यानुफ्याक्चरर्स ले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थहरू प्रायः विभिन्न देशहरूबाट आयात गरिन्छ । कम्पनीको आर्थिक वर्ष २०८०÷८१ मा कच्चा पदार्थ लागतले कुल सञ्चालन आम्दानीको करिब ७०–८० प्रतिशत हिस्सा ओगटेको थियो। त्यसैले कच्चा पदार्थको मूल्यमा हुने कुनै पनि उतारचढावले कम्पनीको नाफामा प्रत्यक्ष असर पार्ने सम्भावना हुन्छ ।

साथै, कम्पनीको उत्पादन क्षमता उपयोग पनि न्यून रहेको छ । आर्थिक वर्ष २०७७ देखि २०८० सम्मका चार वर्षमा औसत उपयोग दर करिब २९ प्रतिशत मात्र रहेको देखिन्छ ।

२०८१ वैशाख अन्त्यसम्म कम्पनीको कुल वार्षिक स्थापना गरिएको उत्पादन क्षमता १ करोड ६६ लाख ५० हजार जोडी रहेको छ ।

नियामकीय जोखिमको असर

जुत्ता उत्पादन क्षेत्र नियामकीय परिवर्तनको उच्च जोखिममा रहेको उद्योग हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी तथा नीतिगत परिवर्तनहरूले व्यवसाय सञ्चालन र नाफामा प्रत्यक्ष असर पार्न सक्छ । विशेष गरी भारतमा निर्यात गर्ने कम्पनीहरूका लागि व्यापार तथा भन्सार नीतिमा हुने परिवर्तनहरूले लागत वृद्धिदेखि सञ्चालन ढिलाइसम्म ल्याउन सक्छ ।

निष्कर्ष
किरण शुजले नेपालमा लोकप्रिय ब्रान्डमार्फत राम्रो बजार पकड बनाए पनि कार्यशील पूँजीको उच्च निर्भरता, कम उत्पादन क्षमता उपयोग, ग्राहकमा अत्यधिक निर्भरता र नियामकीय जोखिमहरू चुनौती बनेका छन् ।

आगामी दिनमा कम्पनीले कार्यशील पूँजीको दक्षता सुधार गर्न, नाफाको स्थायित्व कायम राख्न र बजार विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।

घरेलु वा अन्तर्राष्ट्रिय नीतिगत परिवर्तनहरूबाट उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न र प्रतिस्पर्धात्मक मूल्य कायम राख्दै कानुनी मापदण्डमा अनुकूल रहन उत्पादकहरूले निरन्तर निगरानी र लचिलो रणनीति अपनाउनु आवश्यक हुन्छ ।

 

प्रकाशित : २६ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह