विपेन्द्र कार्की
काठमाडौं । सरकारले झन्डै ६ वर्षपछि प्रदान गर्न लागेको महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान सुरुमै विवादको घेरामा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा साढे २ दर्जन कम्पनी तथा संघसंस्थाका प्रतिनिधिलाई सीआईपी प्रदान गर्दैछन् ।
तीन महिनाअघि नै सीआईपी वितरणको प्रक्रिया सुरु भए पनि प्रदान गर्ने दिन भने चालू आर्थिक वर्ष (२०८१/८२)को अन्तिम दिनलाई जुरेको छ ।
अघिल्ला दुई आर्थिक वर्ष (२०७९/८०) र (२०८०/८१)को तथ्यांकका आधारमा वितरण गर्न लागिएको सीआईपी अर्को आर्थिक वर्ष लागेपछि प्रदान गरिनु आफैंमा असान्दर्भिक हुने भएपछि अन्तिम दिन प्रदान गर्न लागिएको हो ।
यसअघि २०७६ माघमा सीआईपी सम्मान वितरण गरिए पनि त्यसयता यसको प्रक्रिया अघि बढाइएको थिएन । सीआईपी वितरणमा यस वर्ष ढिलाई हुनुको कारण भने प्रारम्भिक सूची सार्वजनिक भैसकेपछि गरिएको गडबडी नै हो ।
सीआईपी प्राप्त गर्नेहरुको सूची गत वैशाख २५ मै स्वीकृत भइसकेको थियो । तर, त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र निजी क्षेत्रका केही प्रतिनिधिको चलखेलका कारण कार्यविधि संशोधनका नाउँमा विधा थप गरियो ।
जसका कारण सीआईपी वितरणमात्र ढिलो भएन कि विभिन्न वस्तुगत संघलाई आफूखुसी मापदण्ड बनाएर सीआईपीका लागि सिफारिस गरियो ।
विधा थप गरिँदा दुई आर्थिक वर्षमा १ अर्ब निकासी गर्ने फर्म वा निकासीकर्तालाई सीआईपी दिने तथा स्टार्टअपलाई समेत सीआईपी दिइने उल्लेख भए पनि त्यसको आडमा विभिन्न वस्तुगत संघहरुलाई यो सूचीमा छिराइएको छ ।
निकासीमा वस्तुगत संघहरुको भूमिका न्यूनमात्र नभै शून्यसरह नै हुन्छ । उदाहरणको निमित्त मानार्थ सीआईपी पाउन लागेको छुर्पी व्यवसायी संघ २०८१ मा स्थापना भएको छ भने छुर्पी निकासी ५ अर्ब कटेको भन्दै अघिल्ला दुई आर्थिक वर्षलाई आधार मानिएको छ ।
सीआईपी प्राप्त गर्ने संघसंस्थाहरुको सूचीमा यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमात्र रहे पनि चालू वर्षमा भने नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ पनि थपिएका छन् ।
यतिमात्र नभै नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महांसघले पनि सीआईपी प्राप्त गर्दैछन् ।
निर्यातमा योगदानका हिसाबले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान यी सबै संघ संस्थाभन्दा अगाडि भए पनि यो संस्थाले सीआईपी पाएन भने विदेशी मुद्रा आर्जनको हिसाबले अगाडि रहेको होटल संघ नेपाल (हान) पनि सीआईपी छनोट समितिको नजरमा योग्य ठहरिन सकेन ।
यस्ता थुप्रै संस्थाहरु हाल सिफारिस गरिएका संस्थाभन्दा सीआईपीका लागि अब्बल भए पनि नियतवश गरिएको कार्यविधि संशोधनले उनीहरुलाई सम्बोधन नै गर्न सकेन ।
यसरी सीआईपीमा भएको बदमासीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नै असन्तुष्ट बनेका छन् ।
वस्तुगत संघ र महासंघलाई आफूसरह मानार्थ सीआईपी सम्मान प्रदान गरिँदा सीआईपीको गरिमा घटेको ति संस्थाका नेतृत्वले महशुस गरेका छन् । अनौपचारिक कुराकानीमा सीआईपीलाई सस्तो बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाए ।
सीआईपी प्राप्त गर्ने संस्थाका प्रमुखहरुले विशिष्ट प्रकारको सुविधा उपभोग गर्न पाउने व्यवस्था रहेको छ ।
सम्मान पाउने व्यवसायीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा रहेका विशिष्ट कक्ष उपभोग गर्न पाउनेछन् । यसबाहेक वैदेशिक व्यापार मेलामा सहभागिताका साथै अन्य मुलुकमा भिसा उपलब्ध गराउन सहजै सिफारिस पाउने व्यवस्था छ ।
यसरी जथाभावी सीआईपी प्रदान गरिँदा त्यसको दुरुपयोग हुने जोखिमसमेत बढेको एक व्यवसायी बताउँछन् । उनका अनुसार तीन प्रमुख संस्थाबाहेक अन्य संस्थालाई सीआईपी दिने हो भने पनि व्यापक छलफल गरेर कार्यविधि तय गरिनुपर्नेमा गुपचुप कार्यविधि संशोधन हुनुले चलखेलको प्रष्ट संकेत देखिएको छ ।
“कार्यविधि बनाउने बेलामै आफ्ना मान्छेलाई मात्र पर्नेगरी बनाइएको देखिन्छ,” उनले भने, “यसमा बदमासीको संकेत प्रष्टै छ ।”
यी हुन सीआईपी पाउनेहरुः
तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरुमा ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रालि, काठमाडौं तथा ऊनी फेल्टका सामानहरुतर्फ नेशनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फ मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गर्दैछन् ।
भारततर्फ निकासी रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्नेमा डाबर नेपाल लिमिटेड, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड रहेका छन् ।
चीनतर्फको निकासी रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल, काठमाडौंले सीआईपी पाउनेछन् ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिले पनि सीआईपी सम्मान पाउनेछ ।
कृषिजन्यवस्तुको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरुमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, झापा र जडिबुटी क्षेत्रबाट ए. बी. हर्बल ट्रेडर्स एण्ड सप्लायर्स, दार्चुलाले यो सम्मान प्राप्त गर्नेछन् ।
सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज, बैंकिङ प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा वढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनीमा आईएमई लिमिटेड तथा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गर्दैछ ।
तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरुमध्ये द साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट ईण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन, ललितपुर र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडले पनि सीआईपी प्राप्त गर्दैछन् ।
स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि, काठमाडौंले पनि सीआईपी पाउनेछ ।










प्रतिक्रिया