Logo

Banner-news

पर्यटन र तस्करीमा कमी आउँदा हुन्डी पनि प्रभावित, चार महिनामै ३३८ अर्ब रेमिट्यान्स


GDP Nepal
   ७ पुस २०७७, मंगलबार


काठमाडौं । कोरोना संक्रमणले विदेशमा रहेका नेपालीले रोजगारी गुमाएका छन्, कतिपय फर्खिसकेका छन् र नयाँ कामदार गन्तव्यमा पुग्न सकिरहेका छैनन् तर रेमिट्यान्स भने घट्ने नभइ बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म मुलुकमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भइ ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । जबबि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरको मूल्य बढेर मात्रै विप्रेषण आप्रवाह बढेको होइन । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई
२ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेकोे थियो ।

कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)
लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या
५.६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

तथ्यांक हेर्दा कामदार जाने क्रम घटेको र फर्कने पनि बढेको देखिए पनि रेमिट्यान्स बढ्नुको कारण भने हुन्डी नियन्त्रण नै हो । हुन्डी कारोबार कम हुन थालेको छ । नेपालको वैदेशिक व्यापार र पर्यटक आगमनमा कमी आउँदा हुन्डीमा पनि स्वतः कमी आउने पछिल्ला घटनाक्रमले देखाएको छ ।

नेपाल घुम्न आउने पर्यटकले झोले एजेन्सीमार्फत उतै बुकिंग गर्ने र भुक्तानीसमेत उतै गर्ने प्रचलनले हुन्डी कारोबार फस्टाइरहेको देखिन्छ । यस्तै, सुन कारोबारीले पनि हुन्डीमार्फत पैसा लैजाने भए पनि उनीहरुको कारोबारमा समेत कमी आएकाले रेमिट्यान्स वैधानिक च्यानलबाट आइरहेको जानकारहरु बताउँछन् ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह