Logo

कर्पोरेट-बजार

व्यवसायीको आकर्षण कांग्रेसमा, हेभीवेटदेखि उदीयमानसम्म महाधिवेशन प्रतिनिधि !


GDP Nepal
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा निजी क्षेत्रको उत्साहजनक उपस्थिति रहने देखिएको छ । महाधिवेशन प्रतिनिधिमा उद्योग व्यवसाय क्षेत्रका हेभिवेटदेखि उदीयमान व्यवसायीसम्म चयन भएका छन् ।

फोर्ब्सको अर्बपति सूचीमा सूचिकृत एकमात्र नेपाली उद्योगपति विनोद चौधरी नवलपुरबाट नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । चौधरी महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी हुन भने आउँदो निर्वाचनमा टिकट पाए प्रत्यक्ष निर्वाचनसमेत लड्न मनस्थितिमा छन् ।

प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन बागलुङबाट निर्विरोध महाधिवेश प्रतिनिधि चयन भएका छन् । गत आम निर्वाचनमा नेपाली कांग्रेसबाटै समानुपातिक उम्मेदवार बनेका भट्टचन सांसद बन्न नसके पनि उनी कांग्रेसप्रति प्रतिवद्ध कार्यकर्ता मानिन्छन् । प्रभु बैंकका पूर्व सञ्चालक अम्बिका शर्मा पनि महाधिवेसन प्रतिनिधि चयन भएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा दोस्रोपटक निर्वाचित प्रकाशसिं कार्कीले सोलुखुम्बुबाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भए । पहिलो प्रदेश निर्वाचनमा कांग्रेसबाट प्रतिस्पर्धा गरेका कार्की फ्रेट फरवार्डर्स एशोसिएसनका निवर्तमान अध्यक्ष हुन् भने उनी आसन्न संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यका बलियो दावेदार पनि हुन् ।

महासंघका प्रदेश १ उद्योग वाणिज्य संघ अध्यक्षमा निर्वाचित झापाका उद्यमी टीकाराज ढकाल झापा ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । ढकालका दाजुभाइ सबै महासंघ राजनीतिमा सक्रिय छन् ।

सोलुखुम्बुबाटै नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा एसियन ट्रेकिङका सञ्चालक आङछिरिङ शेर्पा दोस्रो लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पर्वतारोहण क्षेत्रमा सफल उद्यमी शेर्पा यस क्षेत्रका इन्साइक्लोपेडियासमेत मानिन्छन् ।

यता, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य किशोरकुमार आचार्य रोल्पा कांग्रेस सभापतिमा विजयी भएका छन् । महासंघ कार्यकारिणी सदस्य अमृत भट्टचन नवलपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

महासंघकै पूर्व कार्यकारिणी सदस्य केशवराज पाण्डे झापाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने जिल्ला उपसभापति पदमा पनि उम्मेदवारी दिएका छन् । महासंघमा तीन कार्यकाल सदस्य रहेका पाण्डे यसअघि कांग्रेसबाट प्रदेशसभा सदस्यका समेत उम्मेवार थिए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष (वाणिज्य) अर्जुन पोख्रेल पनि कास्कीबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । उनी पोखराका लोकप्रिय उद्यमी समेत हुन् ।

निर्माण व्यवसायी कान्छाराम तामाङ रामेछाप कांग्रेसको सभापति निर्वाचित भएका छन् । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाका सभापति स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था छ ।

संघीय सांसदसमेत रहेका निर्माण व्यवसायी जिपछिरिङ लामा दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने उनी केन्द्रीय सदस्यका प्रत्यासी समेत हुन् ।

यस्तै, महासंघका पूर्व केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य परिषद उपाध्यक्ष सुदर्शन कार्की दोलखाबाट प्रदेश महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन् । योहो टिभीका सञ्चालक तथा निर्माण व्यवसायी आङकाजी शेर्पा पनि सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि चयन भए ।

वैदेशिक रोजगार व्यवसायी विमल ढकाल रुपन्देहीबाट तथा तिलक रानाभाट कास्कीबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

व्यवसायी राजेन्द्र बजगाईं यसअघि नै गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह