काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यवसायीको चरित्रहत्या र मानमर्दनले निजी क्षेत्र आतंकित बनेको जनाएको छ । नारायणहिटी दरवार संग्रहालय क्याफ्टेरिया भाडा प्रकरणमा सरकारको व्यवहार तथा सञ्चारमाध्यमको टिप्पणीले निजी क्षेत्र आतंकित बनेको संघले बताएको छ ।
मंगलबार एक विज्ञप्तिमार्फत संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन सम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरूमार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।
नारायणहिटी दरबार संग्रहालयमा सरकारले टेन्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीतिअनुसार विधिपुर्वक बतास अर्गनाइजेसनलाई सम्झौता गरी क्याफेटेरिया सञ्चालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रूपमा अनुमति प्राप्त गरिसकेपछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाणरहित विभिन्न तथ्यहिन समाचारहरूको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एकतर्फी दोष देखाएर स्पष्टीकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस संघले गरेको विज्ञप्तिमा भनिएको छ ।
एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरीत भएको गतिविधिमाथि राज्यले यथाशीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही र पीडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गर्न संघले माग गरेको छ ।
“एकतर्फी रूपमा विना अपराध व्यवसायी माथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हुने कुरामा हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ । यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायीमाथि एकतर्फी रूपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाँउदै गरेमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृधिको विरोधमा चरणबद्ध कार्यक्रमहरू घोषणा गर्ने छ भनी सम्पूर्ण सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ,” अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया