काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको टिप्पणी गरेका छन् । उनले सेटिङमा कारोबार भइरहेको भन्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका नवनियुक्त प्रमुखहरुले यसलाई रोक्नुपर्ने बताए ।
बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग मन्त्रालयमा छलफल गर्दै उनले सेटिङबाट हुने कारोबार रोक्न निर्देशन दिएका हुन् ।
छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको दाबी गरे।
“सेटिङमा सेयर कारोबार भइरहेको छ, कसरी गर्छन् भन्ने पनि थाहा भइसक्यो,” उनले भने, “‘यी समस्या समाधान गर्न धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त नेतृत्वले ध्यान देओस् ।”
अर्थमन्त्रीले माओवादीको नेतृत्वमा अर्थ मन्त्रालय रहेका कारण सेयर बजार घटेको भन्ने आरोपप्रति पनि आपत्ति जनाएका छन् ।
आफूले सबै लगानीकर्ताको सुरक्षा र हितका लागि पूँजी बजारलाई स्वच्छ र पारदर्शी बनाउन खोज्दा निश्चित स्वार्थ समूहले यस्तो हल्ला फैलाएर सबै लगानीकर्तालाई दिगभ्रमित पार्न खोजेको उनको भनाइ छ ।
प्रतिक्रिया