Logo

बिजनेस होम

‘अर्थतन्त्रमा देखिएका समस्या सरकार–निजी क्षेत्रबीचको सम्बादबाट समाधान गरौं’


GDP नेपाल
   २७ चैत्र २०७८, आइतबार



अस्मिता शाह
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान संवाद, छलफल र अन्तरक्रियाबाट नै हुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ लाई सम्बोधन गर्दै सभामुख सापकोटाले सरकार र निजी क्षेत्रबीच सम्बाद र सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।

सभामुख सापकोटाले पछिल्लो समय महामारीविरुद्ध लड्दै गर्दा मानवजातीको अस्तित्वमाथि नै यसले प्रश्न चिन्ह खडा गरेको जनाउँदै यस्ता समस्याबाट विचलित र निराश हुनु आवश्यक नरहेको जनाए ।

महामारीकै समयमा विज्ञान प्रविधिमा भने ठूलो क्रान्ति भएको जनाउँदै यसले विश्वमा प्रत्यक्ष रुपमा व्यापार व्यवसायलगायत हरेक क्षेत्रमा प्रभाव पारेको उनले बताए । हरेक कुराको सकारात्मकसँगै नकारात्मक पक्ष रहेको उल्लेख गर्दै उनले भने, “यसले ल्याउने नकारात्मक कुराहरुबारे छलफल गर्न आवश्यक प्रविधिको विकाससँगै नयाँ ढंगले तयारी गरेनौँ भने दसौं करोडौँ मानिसहरु असांगातिक हुने खतरा छ ।”

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले दशकौंदेखि नेपालको उद्योग तथा व्यापार क्षेत्रमा अनवरत योगदान दिँदै आएको नेपाल चेम्बर्स अफ कमर्सले सरकार र निजी क्षेत्रबीच सहकार्यको सहयात्रामा पहिलो सेतुको रुपमा काम गरेको धारणा राखे ।

निजी क्षेत्रमैत्री नीतिहरुको निर्माण, विकास, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र गुणस्तरीय वस्तुहरुको उत्पादन र निर्यात लगायतका विषयहरुमा समेत चेम्बरले अहम भूमिका खेलिरहेको बैरागीले जनाए । यस्तै, उनले निजी क्षेत्र अग्रणि स्थानमा रहेको जनाउँदै यसको सहयात्राबिना राज्यले विकासको यात्रालाई अघि बढाउन नसक्ने बताए ।

“एउटा समृद्ध अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमीका निसन्देह अग्रणी स्थानमा रहेको छ,” उनले भने, “निजी क्षेत्रको उपस्थिति बिना राज्यले विकासको यात्रालाई अगाडि बढाउन सक्दैन ।” निजी क्षेत्र र सरकारबीच सहकार्य बढेको जनाउँदै उनले विगतको जस्तो निजी क्षेत्रलाई संकालु नजरले हेर्ने र फरक ढंगबाट नियाल्ने कार्यमा समेत आमूल परिवर्तन आएको बताए ।

सरकारले निजी क्षेत्रको क्षमता विकासका लागि ‘बिजनेस फ्रेण्डली’ वातावरण निर्माणमा काम गरिरहेको स्मरण गर्दै उनले भने, “सरकारले निजी क्षेत्रलाई भरपर्दो विकासको सहयात्रीका रुपमा स्वीकार गरेको छ । निजी क्षेत्रको क्षमताको विकास सरकारको प्राथमिकतामा रहेको छ ।”

निजी क्षेत्रलाई भरपूर सहयोग पुयाएर, अग्रणि स्थान दिएर विकासको यात्रा सम्भव छ भन्ने सरकारको सोच अनुसार सरकारले ‘बिजनेस फ्रेण्डली’ वातावरण निर्माणको प्रयास गरिरहेको मुख्यसचिव वैरागीको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बर सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सेतुको रुपमा स्थापित भएको बताएका छन् । उनले मुलुकको सर्वाङ्गीण आर्थिक समृद्धिमा निजी क्षेत्रको सारथीको रुपमा सरकारलाई संस्थागत सहयोग गर्ने अभिप्रायले स्थापित र क्रियाशील चेम्बरको सांगठनिक सञ्जाल मुलुकभर विस्तार भइसकेको जानकारी दिए । यस्तै, चेम्बरले कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटिलाई थप उजागर गर्दै विभिन्न सामाजिक कार्यहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ तीव्रता दिँदै आएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष मल्लले अबको बजेटमा सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्नुपर्ने जनाउँदै भने, “अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिन थालेको अवस्थामा २०७६को अन्त्यदेखि फैलिएको कोभिड–१९ को संक्रमणले मुलुकको अर्थतन्त्र र प्रत्येक क्षेत्र प्रभावित भएको छ ।”

महामारीको प्रकोप नियन्त्रणमा रहे पनि राज्यले अर्थतन्त्र पुनउत्थानको लागि पुनकर्जा, पुनर्तालिकालगायत आर्थिक विकासको स्पेशल प्याकेज घोषणा गर्ने र निकट भविष्यमा आउने २०७९÷८० को बजेटमा यसलाई निरन्तरता दिने कार्य हुनपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका पूर्व अध्यक्षहरुको सम्मानमा उनीहरुका सन्ततीहरुबाट स्थापित मेमोरियल अवार्ड वितरण गरियो ।

जसमा इश्वरलाल लाइफ टाइम एचिभमेण्ट अवार्ड, आइसीटीसी ग्रुपका रामलाल श्रेष्ठ, जुद्ध वहादुर श्रेष्ठ मेमोरियल अवार्ड वैद्यज अर्गनाइजेनिका अध्यक्ष सुरज वैद्य तथा बनवारी लाल मित्तल मेमोरियल एवार्ड अन्नपूर्ण ट्राभलका नवराज घिमिरेलाई प्रदान गरिएको छ ।

यस्तै, राज वहादुर चिपालु मेमोरियल अवार्ड निम्वस गु्रपका अध्यक्ष जगदीश अग्रवाल, इन्द्रभक्त मेमोरियल अवार्ड एचसी दुगड ग्रुपका हुकमचन्द दुगड, वालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड छत्रपाटी निशुल्क चिकित्सालय तथा जनकदास श्रेष्ठ मेमोरियल एवार्ड नेपाल शिल्कलाई प्रदान गरियो ।


जिल्ला तथा नगर चेम्वरतर्फ धनुषा चेम्वर अफ कमर्स, सैनामैना चेम्वर अफ कमर्स रुपन्देही, कृष्ण नगर चेम्वर अफ कमर्स कपिलवस्तु भक्तपुर चेम्वर अफ कमर्सलाई प्रदान गरियो ।

 

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह