ललितपुर, भदौ १३
ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
व्यवसायी रुपकमान महर्जनले संघको अध्यक्षमा र अर्का व्यवसायी महेश श्रेष्ठले महासचिव पदमा उम्मेद्वारी दिने भएका छन् । महर्जन वर्तमान कार्यसमितिका महासचिव र श्रेष्ठ सदस्य हुन् ।
महर्जन विगत १५ वर्षदेखि ललितपुर उद्योग वाणिज्य संघको विभिन्न पदमा रहिसकेका छन् ।
यस क्षेत्रका उद्योगी व्यवसायीहरुको पीर, मर्कामा साथ दिदै उनीहरुको हक हितको संरक्षणमा अथक र अबिचलित रुपमा लागेका उनले महासचिवको जिम्मेवारी समेत उत्कृष्ट रुपमा निर्बाह गरेका छन् ।
व्यवसायी रुपकमान महर्जनले ४४औ साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन् । मृदुभाषी र मिलनसार स्वभावका महर्जन ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत रहेका छन् ।
उद्योग, व्यवसाय र कलाको केन्द्रको रुपमा परिचित ललितपुर जिल्लामा उद्द्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको ललितपुर उद्द्योग वाणिज्य संघको अधिबेशनको सरगर्मी बढेको छ । ५६ वर्षको गौरवमय इतिहास बोकेको यस व्यवसायिक संगठनले वर्तमान चुनौतिहरुको सामना गर्दै साना देखि ठूला सबै व्यवसायीहरुको हक हितको लागि आवाज बुलन्द गर्ने क्षमता राख्ने र व्यवसायी मैत्री वातावरण निर्माणको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको खोजि गरिरहेको छ ।
विश्वव्यापी आर्थिक मन्दीको मारमा परेको राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभावले उद्द्योग, व्यापार र व्यवसायमा छाएको निराशाले पनि व्यवसायीहरु सुनौलो बिहानीको व्यग्र प्रतीक्षामा रहेका छन् ।
हाम्रो समुहमा ललितपुर जिल्लाका चिरपरिचित व्यवसायीहरु र व्यवसायिहरुका अधिकारको लागि दत्तचित्त भएर लागेका कर्मठ साथीहरु हुनुहुन्छ र हाम्रो जीत सुनिश्चित छ , अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै रुपकमान महर्जनले भने ।
महर्जन नेपाल आर्ट भिलेज लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा र विभिन्न व्यवसायिक संस्थाहरुमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् ।
यसैगरी चिरपरिचित व्यवसायी तथा बिगत २५ वर्ष देखि ललितपुर उद्द्योग वाणिज्य संघमा विभिन्न पदमा रही कुसल भूमिका निर्वाह गरेका र निरन्तर रुपमा तीन कार्यकाल कार्यसमिति सदस्य रुपमा रहेका वर्तमान कार्यसमिति सदस्य महेश श्रेष्ठले महासचिवको उम्मेद्वारी घोषणा गरेका छन् ।
आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया