Logo

बिजनेस होम

घरजग्गा कर्जामा सीमा हटाउन व्यवसायीकाे माग


GDP नेपाल
   २१ आश्विन २०८०, आइतबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउने सरकारको तयारीविरुद्ध निजी क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् । आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेलामा बोल्दै ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने सरकारको तयारीको विरोध गरेका हुन् ।

उनले निजी क्षेत्रले बजेटमा दिएको कुनै पनि सुझावको सुनुवाई नभएको गुनासो व्यक्त गरेका छन् । “निजी क्षेत्रले घरजग्गा, कित्ताकाट, शेयरलगाएतका विषयमा दिएका सुझावको सुनुवाई भएन । सोही कारणले हालको अवस्था सिर्जना भएको हो,” उनले भने । 

यस्तै, ढकालले कोरोना महामारीको कहर केही कम भएलगत्तै सरकारले विभिन्न सामाग्री आयातमा लगाएको प्रतिबन्धले पनि हाल अर्थतन्त्रमा समस्या देखिएको बताए । निजी क्षेत्रलाई मात्र दोष दिएर सरकारले जन विश्वास गुमाउने अवस्था सिर्जना गरेको जनाउँदै ढकालले यसमा राज्यले जनातामा पुन विश्वास दिलाउन महत्वपूर्ण भूमीका निर्वाह गर्नुपर्ने बताए । उनले अर्थतन्त्र लयमा फर्कदै गरेको अवस्थामा सरकार र राष्ट्र बैंकले जनमैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । ढकालले व्यवसायीका समस्यालाई हल गर्न र सरकारसमक्ष राख्न महासंघको सधै साथ रहने बताए ।

त्यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले घरजग्गा व्यवसायमा लगाएको हदबन्दी हटानुपर्ने माग राखे ।

यस व्यवसायमा हदबन्दी हटाउनु पर्ने र घरजग्गा कर्जाकाे सीमा संस्थागततर्फ ६० प्रतिशत तथा व्यक्तिगतलाई ८० प्रतिशत पुर्याउनुपर्ने उनकाे भनाइ छ । 

अध्यक्ष मल्लले निजी क्षेत्र हाल कठिन मोडमा उभिएको बताउँदै एक भएर अघि बढ्नुपर्ने स्थिति आएको बताए ।
यस्तै, असोज २५ गते प्रधानमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको बताउँदै मल्ले घरजग्गा व्यवसायीलाई आफ्नो गुनासो तथा सुझावबारे जानकारी गराउन आग्रह गरे ।

सो अवसरमा राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष कुश कुमार जोशीले सरकारले निजी क्षेत्रका समस्या र सुझावलाई अवहेलना गरेको बताए । “हाम्रो समस्या सभ्य ढंगले राख्यौ त्यसैले सरकारले टेरेन”, उनले भने ।

यस्तै, उनले सरकारले कर असुली गर्ने तर कर तिर्ने व्यवसायीको सम्मान भने नगरको गुनासो व्यक्त गरे । “यो देशमा कर तिर्नेको अधिकार हनन भएको छ”, उनले भने “,यो देशमा लुट्न सक्ने मात्र बस्छन् । नसक्ने पलायन हुन्छन् ।”

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह