काठमाडौं । सरकारले आसन्न दशैंलाई लक्षित गर्दै नारायणगढदेखि काठमाडौंसम्म ठूला ट्रक सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
यातायात व्यवस्था विभागले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरुमा प्रतिवन्ध लगाउने निर्णय भएको जानकारी दिएको छ ।
आइतबार अर्थात असोज २८ गतेदेखि लागू भएको यो निर्णय कात्तिक ८ गतेसम्म लागू हुनेछ ।
“यात्रुलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले नारायणगढदेखि काठमाडौं सडक खण्डमा ट्रेलर लगायतका ठूला सवारी साधनहरु उपत्यकामा प्रवेश गर्न प्रवेश विन्दुमा रोक लगाउने निर्णय भएको छ,” विभागका निर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले भने ।
प्रवक्ता पनेरुका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरिएकोमा असोज २६ गतेदेखि नै पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ ।
तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने जनाइएको छ ।
प्रतिक्रिया