Logo

Uncategorized

३७औँ  क्यासी सम्मेलन काठमाडौँमा सुरु, दिगो उद्यमशीलता र व्यापारमा जोड


GDP नेपाल
   २० कार्तिक २०८०, सोमबार


एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७औँ क्यासी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । दुईदिनसम्म चल्ने उक्त सम्मेलनको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो ।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो । “नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

सो अवसरमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्मेलन आयोजना गर्न पाउनु नेपालका लागि गर्वको कुरा भएको बताउनुभयो । विश्वका मुलुक पहिलेभन्दा धेरै अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले प्रविधि, व्यापार र सञ्चारमा भएको दु्रतगतिको विकासले  भावी जीवनलाई आकार दिनाका साथै विश्वव्यापीकरणले राष्ट्रहरूलाई नजिकसमेत  ल्याएको बताउनुभयो । विश्वव्यापी परिदृश्यको जाँच गर्दा विकासका विभिन्न पक्षहरू जस्तै औद्योगिकीकरण, उद्यमशीलता, दिगोपन, असमानता, हाम्रो भविष्य र राज्यको भूमिकालाई विचार गर्नुपर्ने उहाँको धारणा थियो र 

आजको बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नका लागि साना र मझौला उद्यमीले आफ्नो ब्राण्ड बढाउन र पुँजीमा पहुँच बढाउन र व्यावसायिक जोखिम व्यवस्थापन गर्नका लागि सक्षम हुन दिगोपना महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मेलन दिगोपन, उद्यमशीलता र व्यापारमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुकको आर्थिक विकासका प्रमुख स्तम्भ यिनै हुन् । हामी एशिया–प्रशान्त क्षेत्रका लागि अझ समृद्ध भविष्य सिर्जना गर्ने आकाङ्क्षा राख्छौँ । दुई आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बीचमा अवस्थित नेपालले एशिया प्रशान्त क्षेत्रमा रणनीतिक स्थान ओगटेको छ । यो सम्मेलनले व्यापार सञ्जाल, लगानीका अवसरको खोजी र बहुमूल्य विचार आदानप्रदानका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

अध्यक्ष ढकालले नेपालबाट आयातित जलविद्युत्लाई आफ्नो नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयले भारतको बजारलाई थप वृद्धि गर्ने अपेक्षा गर्नुभयो । 

नेपालमा जलविद्युत् प्रचुर मात्रामा रहेकाले यहाँको दिगो आर्थिक विकासका लागि स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्नसक्ने स्थितिमा रहेको उहाँको भनाइ थियो । नेपालको ऊर्जा क्षेत्रमा लगानी र सहकार्यको सम्भावना खोजी गर्न एशिया प्यासिफिकको निजी क्षेत्रलाई अध्यक्ष ढकालले आग्रह पनि गर्नुभयो । 

अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले सगरमाथालगायत विश्वका अग्ला हिमालको भूमि भएकाले यहाँ एशिया–प्रशान्त क्षेत्रबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिनेसमेत बताउनुभयो । विश्वसँग राम्रो ‘कनेक्टिभिटी’ स्थापना गर्न  विश्वस्तरीय होटल र विमानस्थललगायत महत्वपूर्ण चार वटा पर्यटन पूर्वाधारमा लगानी भइसकेको र  केबलकार, लक्जरी होटल तथा रिसोर्ट, थिम पार्क, हिलस्टेसनलगायत  अन्य धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ थियो 

क्यासी अष्ट्रेलियाका अध्यक्ष पिटर एमसीमुल्लिन एएमले उद्यमशीलता र विशेष गरी समावेशी उद्यमशीलताले हाम्रा केही अत्यावश्यक चुनौती समाधान गर्न नयाँ विचार भएका मानिसलाई समर्थन गर्ने बताउनुभयो । 

उहाँले उद्यमीहरूलाई समर्थन गरेर नयाँ प्रविधिहरू समावेश गरी तिनका विविध समूहलाई समर्थन गरेर र नवप्रवर्तनलाई फस्टाउनका लागि अनुमति दिए न्यायपूर्ण अर्थतन्त्रतर्फ लैजान नयाँ व्यापारको मोडेल देखाउन सकिने बताउनुभयो ।

सम्मेलनमा अष्ट्रेलिया, हङकङ, पाकिस्तान, इरान, साउथ कोरिया, टर्की, सिङ्गापुर, ताइवान, रसिया, फिलिपिन्स, भारतलगायत मुलुकका प्रतिनिधि सहभागी छन् । 

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह