Logo

बिजनेस होम

दूरसञ्चार प्राधिकरणमा अनौठो अभ्यास, प्रवक्ता ‘व्यस्त’ भएको भन्दै सूचना नदिइने !


gdpnepal
   ३ मंसिर २०८०, आइतबार


काठमाडौं । सरकारी वा निजी कार्यालयसँग सम्बन्धिन सूचना सहज रुपमा आम सर्वसाराधारण र सरोकारवालासम्म पुग्न सकोस् भनेर प्रवक्ता र सहायक प्रवक्ताको व्यवस्था गरिएको हुन्छ । प्रायः आम सञ्चारका माध्यमबाट प्रकाशन तथा प्रशारण हुने कार्यालयका सूचनाका विषयमा समन्वय गर्ने र जानकारी दिने काम तिनै प्रवक्ता र सहायक प्रवक्ताको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने प्रवक्ता र सहायक प्रवक्ताको पदीय जिम्मेवारी रहेको भन्दै सूचना नदिने आसयसहितको सूचना (विज्ञप्ति) जारी गरेको पाइएको छ । प्राधिकरणले गत कात्तिक २२ मा जारी गरेको विज्ञप्तिमा कार्यालयका काम कारबाहीका सम्बन्धमा महिनाको २ पटक पत्रकार सम्मेलन आयोजना गरिने उल्लेख गरीएको छ ।

विज्ञप्तिमा स्पष्टताका साथ उल्लेख नगरिए पनि प्रवक्ता र सहायक प्रवक्ताले सूचना दिन नसक्ने र यसका लागि नियमित पत्रकार सम्मेलन नै कुर्नुपर्ने आसय देखिन्छ । दूरसञ्चार क्षेत्रको नियामकीय निकाय रहेको प्राधिकरण सूचना सम्प्रेष्णप्रति किन यतिधेरै अनुदार हुन खोजेको हो भन्नेमा धेरैले आश्चर्य प्रकट गरेका छन् ।

हालैमात्र एमडीएमएसका कारण आम सेवाग्राहीमा उत्पन्न अन्योलदेखि मन्त्रिपरिषदको बैठकले निर्णय गरी टिकटकमाथि प्रतिबन्ध लगाएको र त्यसलाई कार्यान्वयन गर्ने निकाय समेत रहेको प्राधिकरण यतिबेला जवाफ दिनैपर्ने अवस्थामा छ । तर, प्राधिकरण भने प्रवक्ताको जिम्मेवारीसम्बन्धी प्रचलित व्यवस्थालाई नै उपहासको विषय बनाएर विज्ञप्ति जारी गरिरहेको देखिन्छ ।

यस्तो छ प्राधिकरणको प्रेस विज्ञप्ति
यस प्राधिकरणबाट हुने काम कारबाही तथा निर्णयहरुको सम्बन्धमा जानकारी गराउनको लागि प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारी तोकिएको व्यहोरा विदितै छ । प्रबक्ता तथा सहायक प्रवक्ताहरुको कार्यालयको आफ्नो महाशाखा तथा शाखाहरुको पदिय जिम्मेवारी समेत भएको हुनाले कार्यालय समयमा एक एक जना गरी जानकारी गराउँदा कार्यालयको कार्यमा असर पर्न गएकोले कार्यालयको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न साथै प्राधिकरणबाट हुने काम कारबाही तथा निर्णयहरु सम्बन्धित सवैलाई सुःसुचित गर्ने उदेश्यले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ताको बुधबार २ बजे पत्रकार सम्मेलन गरी प्राधिकरणको काम कारबाही तथा निर्णयहरु जानकारी गराउने व्यहोरा सम्बन्धित सबैको जानकारीको लगि अनुरोध छ ।
पत्रकार सम्मेलन बाहेक कुनै महत्वपूर्ण जानकारी भए प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने व्यहोरा समेत अनुरोध छ।
सन्तोष पौडेल
प्रवक्ता

प्रकाशित : ३ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह