Logo

बिजनेस होम

होटलहरु एकतिहाई अकुपेन्सीमा सञ्चालन, संघले गुहार्‍यो पर्यटनमन्त्री


gdpnepal
   ५ मंसिर २०८०, मंगलबार


काठमाडौं । मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि अझै पनि होटलहरु क्षमताको एक तिहाईमात्र अकुपेन्सीमा होटलहरु संचालन भएको भन्दै होटल संघ नेपाल (हान)ले समस्या समाधानका लागि विभागीय मन्त्री गुहारको छ ।

संघका अध्यक्ष विनायक शाह तथा पदाधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग भेट गरी मुलुकमा पर्यटकीय गतिविधि बढाउन माग गरेको छ ।

अध्यक्ष शाहले अध्यक्ष शाहले पर्यटक बढे पनि होटलहरु सञ्चालन घाटामा रहेको बताए । पछिल्लो समयमा धेरै ठूला होटल संरचनाहरु सञ्चालनमा आउने क्रम बढेकोले माग भन्दा आपूर्ति बढी भएको उनको भनाइ छ ।

विदेशी पर्यटकहरु नेपाल भ्रमणका लागि लालायित र सोधपुछहरु बढ्दै गएको परिप्रेक्ष्यमा पूर्वाधारहरु जस्तै राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाईका कारणले नेपाल आउने पर्यटकहरु अन्यत्रै जाने गरेको अध्यक्ष शाहले मन्त्री किरातीमार्फत सरकारको ध्यानाकर्षण गराए ।

मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने हुँदा यस तर्फ राज्यको ध्यान जान उनले आग्रह गरे । उनले विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यस तर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवद्र्धनमा सक्रिय रहन जोड दिए । उनले पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे ।

मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजिकरण गरिनुपर्ने बारेमा छलफल भएको बताइएको छ । उक्त अवसरमा मुलुकको पर्यटकीय केन्द्रमा सञ्चालनमा रहेका होमस्टे र एयर बी एण्डबीलाई राज्यको दायरामा राखी दर्ता, नविकरण र राज्यलाई राजस्व समेत बुझाउने गरी नियमनकारी भूमिका खेल्नुपर्ने बताइयो ।

कोभिड, रुस–युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धरासायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकी बैंकलाई बुझाउनुपर्ने साँवा व्याज समयमा बुझाउन नसकेको हुँदा साँवा व्याज बुझाउने समयावधि थप गरिनुपर्नेमा अध्यक्ष शाहले जोड दिए ।

पर्यटन क्षेत्रमा कार्यरत दर्जनभन्दा बढी राष्ट्रिय छाता संगठनहरुले पर्यटनसँग सँगसँगै (टुगेदर फर टुरिजम) भन्ने पर्यटन सञ्जाल गठन भएको जानकारी गराउँदै हिजो बसेको संयुक्त बैठकबाट जाजरकोट भूकम्प पीडितका लागि संकलन भएको राहत रकम छिट्टै वितरण गरिने उनको भनाइ छ ।

उक्त सञ्जालले समग्र मुलुकको पर्यटन विकास र विस्तारका लागि सरकारसँग छलफल गर्ने समेत जानकारी गराउँदै प्रधानमन्त्रीबाट प्रारम्भ भएको सरकार र निजी क्षेत्रसँगको आर्थिक गतिविधि बढाउने उपायहरुमा होटल र पर्यटन क्षेत्रको मौजुदा समस्याहरुको निराकरणमा यथेष्ट ध्यान जाने विश्वास व्यक्त गरे ।

अध्यक्ष शाहले मुलुकको पर्यटनलाई बढावा दिने उद्देश्यले होटल संघ नेपालले संघको स्थापना दिवसका अवसरमा आउँदो जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्दत पुग्ने बताए ।

मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको बताउँदै मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरु समयमै सम्पन्न गरी हवाई सञ्जाल समेत विस्तार गरिने र यसबारेमा सम्बन्धित निकायमा पहल कदमी भइरहेको बताए ।

मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा यस पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरुले महत्व राख्ने बताउँदै पर्यटन दशकका लागि समेत गृह कार्य सुरु भइसकेको उनको भनाइ छ ।

सो अवसरमा होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, प्रथम उपाध्यक्ष प्रविणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र महासचिव साजन शाक्यले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह