Logo

बिजनेस होम

चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ गतेदेखि, पाँच देशका ३० वक्ता !


gdpnepal
   १० मंसिर २०८०, आइतबार


काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले मंसिर २१ गतेदेखि जिम्मेवार व्यवसाय सम्मेलन (रेस्पोन्सिबल बिजनेस समिट)को चौथो संस्करण आयोजना गर्ने भएको छ । काठमाडौंको हायात रिजेन्सी होटलमा मङ्सिर २१ र २२ गते दुई दिन आयोजना हुने सम्मेलनमा नेपालसहित पाँच मुलुकका ३० वक्ताले प्रस्तुती दिनेछन् ।

२०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करणको थिम उदीयमान व्यापार वास्तविकताहरूमा अनुकूलन (एडप्टिङ टू इमर्जिङ बिजनेस रियालिटिज) भन्ने रहेको छ ।

सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा अन्तक्रिया हुने एनबीआई अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीका अनुसार समाज, वातावरण तथा अर्थतन्त्र गरी तीन विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिनेछ । समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् ।

वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहने उल्लेख छ ।
त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहने जनाइएको छ । ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३ सयभन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहने आयोजक एनबीआईले जनाएको छ ।

“विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले हाम्रो सम्मेलन अझ बढी सान्दर्भिक हुने ठान्दछौं,” अध्यक्ष जोशीले भने ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहकार्य रहने जनाइएको छ ।

कोभिड महामारी र विश्वव्यापी आर्थिक संकटका कारण सम्मेलन एक वर्ष ढिलो सञ्चालन हुन लागेको बताइएको छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह