Logo

मुख्य समाचार

सर्वोत्तम सिमेन्टमा त्यस्तो के छ, जसले दिनहुँ सेयरमा सर्किट लागिरहेको छ ?


gdpnepal
   १६ चैत्र २०८०, शुक्रबार


काठमाडौं । नेपाली सेयर बजार पछिल्लो साता सर्वोत्तम सिमेन्टमय देखिएको छ ।

सेयर कारोबार हुने पछिल्ला सात दिनमा सर्वोत्तमको सेयर मूल्य झन्डै दोब्बर भएको छ ।

चैत ६ गते मंगलबार ५५६ रुपैयाँमा कारोबार सुरु भएको सर्वोत्तमको पछिल्लो कारोबार चैत १५ गते बिहीबारसम्म १ हजार ८३ रुपैयाँमा पुगेको छ ।

यसबीचमा भएको सबैजसो कारोबारमा सेयर बजारमा तीव्र उतारचढाव र अधिकांशको सेयरमूल्यमा गिरावट आउँदा पनि सर्वोत्तमको भने १० प्रतिशत हाराहारीमा मूल्य बढिरह्यो ।

१० प्रतिशत मूल्य बढेसँगै सर्किट लाग्ने भएकाले त्यस दिन कारोबार हुँदैन । जसका कारण सर्वोत्तको मूल्य बढे पनि कारोबार भने ठूलो परिमाणमा हुन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्जमा सर्वोत्तमको ४ करोड ६५ लाख कित्ता सेयर सूचिकृत छ । जसमध्ये ८७.१० प्रतिशत अर्थात ४ करोड ५ लाख कित्ता प्रवर्द्धकको र १२.९० प्रतिशत अर्थात ६० लाख कित्ता सर्वसाधारणसँग रहेको छ ।

यसरी सर्वोत्तमको ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको यो सेयरको चुक्ता मूल्य अहिले बढेर ५० अर्ब ३४ करोड ५५ लाख ५० हजार रुपैयाँ पुगिसकेको छ ।

सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपाने सर्वोत्तम सिमेन्ट लिमिटेड सञ्चालक समितिका अध्यक्ष हुन् भने यसमा दिवस न्यौपाने, टीकाराम न्यौपाने, विमल कुमार सवार्थिया र तेञ्जिन लाक्देन सदस्य रहेका छन् ।

सर्वोत्तमको सेयर निष्काशनपूर्व नै निकै विवादमा आएको थियो । बुक बिल्डिङ प्रविधिबाट पहिलोपटक सेयर निष्काशन अनुमति पाएको यो कम्पनीको सेयर विवादकै कारण धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले पद गुमाउनु परेको थियो ।

सर्वोत्तमको सेयर बुक बिल्डिङ विधिबाट जारी गरिएका कारण संख्यात्मक रुपमा धेरैको स्वामित्वमा छैन । हाल कूल ५६ हजारभन्दा कम व्यक्तिसँग मात्र यो सेयर रहेका कारण मूल्यमा सीमित व्यक्तिको नियन्त्रण रहेको देखिन्छ ।

कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका थिए भने जसमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका थिए ।

कम्पनीले सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ जारी गरेको हो ।

कम्पनीको वित्तीय स्वास्थ्य त्यति उत्साहजनक नरहे पनि सीमित व्यक्तिसँगमात्र सेयर रहेको र पहिल्यै उच्च मूल्यमा खरिद गरेका कारण दोस्रो बजारमा बढिरहेको यसको मूल्यलाई भने सकारात्मक मान्न नसकिने देखिन्छ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह