Logo

मनोरञ्जन

अफ्ताव आलमसँग मिल्दो हुलियाकै कारण ‘लाज शरणम्’को प्रचारमा रोक, प्रदर्शन के होला ?


gdpnepal
   ७ फाल्गुन २०८१, बुधबार


काठमाडौं । पाटन उच्च अदालतले चलचित्र ‘लाज शरणम’ को प्रचारप्रसारमा रोक लगाएको छ । मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै लाज शरणमको प्रचारप्रसारमा रोक लगाएको हो ।

यसअघि सार्वजनिक भएको चलचित्रको पोष्टरमा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले निभाएको चरित्रमाथि आपत्ति जनाउँदै पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले उच्च अदालतमा रिट हालेका थिए । अदालतले चलचित्र सेन्सर पास नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आदेश दिएको छ ।

फागुन १४ बाट लाग्ने भनिएको लाज शरणम् चलचित्र हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टीमले बनाएको हो । जसमा चलचित्रको पोस्टर र टिजरमा एक पात्रको हुलिया आफूसँग मेल खाएको भन्दै आलमले प्रदर्शन रोक्न माग गरेका थिए । आफूसँग अनुमति नलिईकन आफ्नो चरित्र उतारिएको आलमको आरोप छ ।

अदालतको अन्तरिम आदेशमा भने चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ३, ८ (१) बमोजिम चलचित्र निर्माण तथा प्रदर्शनका लागि चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकार सञ्चार मन्त्रालयमा रहेको केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेश भई ऐ. निर्णय भइसकेको अवस्था नदेखिएको उल्लेख छ । जसका कारण निवेदकको संविधान एवं कानून प्रदत्त हक–अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिएको जनाइएको छ ।

सेन्सर अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रचार–प्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नु नगराउनू भनि अदालतले आदेश दिएको छ ।

निर्माण कम्पनी जेपिटी क्रियसनले आक्रामक प्रचार गरिरहेको अवस्थामा अदालतको आदेशले भने ठेस लागेको छ । यद्यपि, सेन्सर बोर्डले पारित गरेको अवस्थामा भने यसको प्रचार सुचारु हुनेछ र प्रदर्शन पनि निर्धारित मितिमै हुनेछ ।

 

प्रकाशित : ७ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह