काठमाडौं । सुनचाँदी व्यवसायीले कर नीतिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । सरकारले आगामी आर्थिक २०८२/०८३ को बजेटमा गरेको कर नीति व्यवस्थाकोविरुद्ध नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेको व्यवसायीले बताएका छन् ।
“यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो ब्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले व्यवसायीका जायज मागलाई सम्वोधन गर्न तदारुकता नदेखाएको र निर्णयक पहलकदमी नभएको हुँदा आफ्ना मागहरु पुरा नभएसम्म चरणवद्ध रुपमा आन्दोलनमा जान बाध्य भएको व्यवसायीको गूनासो छ ।
“यसका लागि दुवै महासंघको तर्फवाट संयुक्तरुपमा, संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरिएको जानकारी गराउँदछौं । सोही समितिको आयोजनामा राष्ट्रियरुपमा विरोध सभा तथा विरोध याली आयोजना गर्नुका साथै त्यसपश्चात निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै जाने र अनिश्चितकालिनरुपमा देशैभरका पसल ब्यवसाय बन्द गरी सडक आन्दोलन गर्ने निर्णण भएको जानकारी गराउँदै संयुक्त आन्दोलनको घोषणा गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।
साथै, व्यवसायीले तत्काल अध्ययन कार्यदल गठन गरी आफ्ना जायजमागहरु सम्बोधन गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
सम्वद्ध संघ मार्फत गर्ने विरोध कार्यक्रम: असार मसान्त सम्म
१. बिरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने ।) र अन्य रचनात्मक कार्यक्रम गर्ने ।
२. अव्यवहारिक कर नीति वारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने ।
३. अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने ।
४. जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने ।
महासंघद्वारा तय गरिएका आन्दोलनका कार्यक्रम
१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । वागमति प्रदेशको हकमा काठमाडौंमा वृहत याली सहित विरोध सभा गर्ने ।
२. सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूर्ण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघद्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।








प्रतिक्रिया