Logo

Uncategorized

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम अघि बढ्दै



स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ ।

हालै आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत् गृह तथा जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध निर्माण गरिनेछ । जगदुल्लासँगै निर्माणको योजना बनाएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन । सो आयोजनाको डीपीआर तयार गर्न चार पटक म्याद थपिएको छ ।

उज्यालो नेपाल अभियानअन्तर्गत जगदुल्ला आयोजनाको डीपीआर निर्माण गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत अघि बढेको छ । आयोजनाले पार्ने प्रभावबारे भौगर्भिक अध्ययन भइरहेको छ । आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार कूल ४०० मिटर लम्बाइको सो आयोजनाको ३२० मिटर सुरुङ खनिएको छ । अस्थायी कार्यालय र आवास निर्माण गरिएको छ ।

“दुई सय ६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम सकिएको छ”, उहाँले भन्नुभयो । उत्पादित विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक र वित्तीय संस्थासँग छलफल भएको छ । पहुँच मार्गका लागि जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गर्नुपर्ने छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर सडकको ट्रयाक खोलेको सापकोटाले बताउनुभयो ।

आयोजनाबाट उत्पादित विद्युत् रुकुम पश्चिमको बाँफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सवस्टेशनमा जोडिने छ । निर्माण गरिएको डीपीआरअनुसार आयोजनाको कूल लागत २० अर्ब छ । ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलमा पानी खसालेर बिजुली उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला–१ हुरिकोटमा २३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । आयोजना निर्माण गर्न चाहिने बिजुलीका लागि फेदीखोला र काइगाउँस्थित खोलाबाट दुई दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ ।

रु तीन करोडको लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडक निर्माण थालिएको छ । त्रिवेणीदेखि आयोजनाको बाँधस्थल हुरिकोटसम्म सडक निर्मण र स्तरोन्नति पुल आयोजनाले नै सापकोटाले बताउनुभयो । सो खण्डमा १० बेलिब्रिज आयोजनाले बनाउने छ ।

त्रिवेणीमा पुल निर्माणको काम अघि बढेको छ । सो पुल दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य छ । जाजरकोट–डोल्पा सडकखण्डको जाजरकोट र रुकुमपश्चिमको बीचमा भेरीमा पुल बनाउन काम थालिएको सापकोटाले बताउनुभयो । उक्त पुल निर्माण भए त्रिवेणीस्थित भेरीमा पुल निर्माण गर्न सहज हुने बताइएको छ । आयोजना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न यही बाटो प्रयोग गर्नुपर्ने छ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह