काठमाडौं । मौद्रिक नीतिको मध्यावधि समीक्षामा सेयर कर्जासम्बन्धी नीति परिवर्तन नहुँदा बजार सूचकांक नेप्सेमा पहिरो गएको छ ।
आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत राखेपछि आइतबार बजारमा त्यसको असर देखियो ।
यसअघि मौद्रिक नीतिले एक बैंकबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । समीक्षामार्फत यो व्यवस्थाको दायरा बढाइने धेरैको अनुमान थियो । परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम केही बढेको छ । ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।
आइतबार सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ३४, ब्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैंक २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रोफाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अंकले घटे ।
१८२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मात्रै बढेको छ ।
आइसिएफसी फाइनान्सको मूल्य भने ९.७ प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो ।हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८.४ प्रतिशतले घट्यो । मानुसी लघुवित्तको ८, प्राइम लाइफ इन्स्योरेन्सको ७.३ प्रतिशतले मूल्य घट्यो ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको २८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
प्रतिक्रिया