काठमाडौं । मुलुक निर्वाचनमा होमिएका बेला नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारी अघि बढेको छ । मुलुकमा लामो समयदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनाको आवश्यकता र औचित्यमाथि बहस भइरहेका बेला यसको प्रक्रिया अघि बढेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी अघि बढाइएको जनाइएको छ ।
धितोपत्र बोर्डको अघिल्लो साता सम्पन्न सञ्चालक समिति बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको हो । जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जको पुँजी ३ अर्ब हुनुपर्नेछ ।
यस नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउनेछन् । सेबोनले सोही अनुसार नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन आफ्नो नियमावली संशोधन गरेको छ ।
अब अर्थ मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि सेबोनले नयाँ स्टकलाई लाईसेन्स दिन आवश्यक प्रकृया सुरु गर्नेछ ।
नयाँ स्टक एक्सचेञ्जका लागि व्यापारिक घराना शंकर समूह र दिपक भट्ट समूह अगाडि रहेको जनाइएको छ ।
यद्यपि, मुलुक संघीय र प्रादेशिक निर्वाचनको चरणमा प्रवेश गरिसकेका कारण तत्काल यसले मूर्त रुप लिन त्यति सहज नरहेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया