काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षामा सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशत विन्दु घटाएर १०० प्रतिशत कायम गरिएको छ ।
सेयर धितोको कर्जा जोखिम भार यसअघि १२५ प्रतिशत थियो । यसले सेयर बजारलाई केही राहत मिल्ने देखिएको छ ।
सेयर धितो कर्जाको जोखिमभार (risk weight) घटाउँदा पुँजी बजारमा सामान्यत: सकारात्मक प्रभाव पर्न सक्छ। यसको केही मुख्य कारणहरू यस्ता छन्:
जब जोखिमभार घटाइन्छ, बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जा दिनु पर्दा कम पूँजी छुट्याउनुपर्ने हुन्छ। यसले गर्दा बैंकले बढी कर्जा दिन सक्छन् भने लगानीकर्ताले सेयर धितो कर्जा सजिलै पाउँछन् ।
यसबाट बजारमा तरलता पनि बढ्छ। लगानीकर्ताले सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए । केही वर्षयता सेयर बजारले गति लिन सकेको छैन ।
सोमबारको सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिने आकलन गरिएको छ ।
विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरिएको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने भएको छ ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा गरिएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने भएको छ ।
यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने समीक्षामा उल्लेख छ ।
नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।
विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत् राखिएको छ ।










प्रतिक्रिया